Monday, February 15, 2010

A Collection of Nepali Poems!



Dear All!
My new book " A Collection of Nepali Poems" (अभिलाषा, रूचि र जीवन ) is on sale on createspace.com https://www.createspace.com/3431222 and and from today it is also available on www.amazon.com and all major online book distributors!


I hope you will like my new collection and give me your precious feedback!

Jyoti mishra

Saturday, February 13, 2010

एक एक बहाना खोज्दै एक एक बहानामा बाँचेको मान्छे!

भोलीका सुन्दर संम्भावनाहरुमा
बाँच्ने कल्पनामा बाँचेको मान्छे
एक एक बहाना खोज्दै
एक एक बहानामा बाँचेको मान्छे

आ-आफ्नै अस्तिवको कारण ठम्याउँदै
त्यही कारणकै अघि पछी रूमल्लिएका मान्छे
जीवनमा जति नै स्वतन्त्र भनेनी
एक परिधि भित्र सिमित मान्छे

आज भन्दा भोली, जीवनले अझ मिठो
लड्डु खुवाउने आशमा, रमेका मान्छे
त्यही आशमा हरदम, साँस फेर्नै फुर्सद नपाएका
तल्लिन, ब्यस्त मान्छे नै मान्छे

प्राणीहरुमा सबभन्दा बुद्धिमान भएर होला
सबैभन्दा जटिलतामा बाँचेका मान्छे
मान्छे मान्छेले बुनेको समाजरुपी धागोको
गाँठै गाँठोमा अल्झिएको मान्छे

भोलीका सुन्दर संम्भावनाहरुमा
बाँच्ने कल्पनामा बाँचेको मान्छे
एक एक बहाना खोज्दै
एक एक बहानामा बाँचेको मान्छे

© ज्योति मिश्र २००९

बिरानो ठाउँको मोहले नेपाललाई बिर्साएछ!

जीवनले कहाँ डोर्याएर
कुन बिरानो देशमा लिई आएछ
यही बिरानो ठाउँको मोहले
मेरो नेपाललाई बिर्साएछ

ती मन्दिर, देवल, पाटी पौवा
ठुला ठुला घरको जिन्दगी बीच हराएछ
सधैं मान्ने चाड पर्व
खै कुन संस्क्रिति बीच बिलाएछ

नेपाली नेपाली बीच अंग्रेजी बोल्ने
नयाँ माहोलले समाएछ
बिलाशिताले भनुं या डलरको देन
नेपाललाई धिक्कार्ने मन नि पलाएछ

नाता गोता सबलाई बिदेशै बोलाउने
नयाँ चलनको हावा लाएछ
खोइ के हो के हो नेपाल को चाला नि
नेपाली भनी गर्ब गर्ने रहर नि हराएछ

जीवनले कहाँ डोर्याएर
कुन बिरानो देशमा लिई आएछ
यही बिरानो ठाउँको मोहले
मेरो नेपाललाई बिर्साएछ

© ज्योति मिश्र

भीडै भीडमा रुमल्लीएको!

सुनौलो सपनाहरु सँगै
हजार रहर बोकेका मान्छे
भबिष्यको मिठो कल्पनामा
आज बांच्न बिर्सेंका मान्छे

जीवन सुखसँग बिताउन
दिनरात दौडी रहेका मान्छे
सन्तुष्टीको खोजीमा
हरदम असन्तुष्ट मान्छे

भीडै भीडमा हराएका
हुलका हुल मान्छे
अस्तित्व आफ्नो आँफैसंग
खोजी हिंड्ने मान्छे

खोई कता कता के के खोज्दै
आँफैंमा हराएका मान्छे
त्यही मान्छे मान्छेको बीचमा
रुमल्लीएको म एक मान्छे

© ज्योति मिश्र २००९
Thanks for visiting my blog!