Thursday, June 25, 2009

बादलुले मायालाई

नबुझेको होइन शायद
बुझ्न नसके जस्तो लाग्छ
मायालाई उंचाईमा
बादलुले पो छोप्यो जस्तो लाग्छ

बेसी पहाड लेक हुँदै
कती देउराली काटी सकियो
कती गाह्रो चिप्लो यात्रा
मुस्कान रोदन कटाई सकियो

सागरबाट बादल उठी
आकाशमा पुगी फेरी
त्यही बर्षा नदी हुँदै
सागरमै मिले जस्तै

बादलको शितबाट,
लेकबाट मायालाई
उही न्यानो बेसी झारी
माया दिउं जस्तो लाग्छ

मन भित्र खुल्दुली
बढे जस्तो जस्तो लाग्छ
मायालाई उंचाईमा
बादलुले पो छोप्यो जस्तो लाग्छ

© ज्योति मिश्र २००९

जीवनका लक्ष्यहरु एकैचोटी पुगोस् जस्तो !

जीवनका लक्ष्यहरु
एकैचोटी पुगोस् जस्तो
आजबाट भोली नभई
अर्कै बर्ष आओस् जस्तो

कल्पनाका सारा ईच्छा
अहिल्यै सबै पुराउं जस्तो
भोलीनै मनका सारा रहर
बांची हालौं, हेरौं जस्तो

ब्यग्र यो मन, जीवन बुझ्न
फिल्म छिटो कुदाए जस्तो
जीवन छिटो कुदाउन सके
फेरी अर्कै द्रिश्य रोज्थें जस्तो

घडी अनी यो संसारनै
कती ढिलो घुमे जस्तो
आजबाट भोली नभै
अर्कै बर्ष आओस् जस्तो

© ज्योति मिश्र
Thanks for visiting my blog!