Wednesday, May 8, 2013

ॠतु बहार बनि आयौ!!!

प्रभातको किरण सँगै
सम्झनीमा तिमी आयौ
बन्द गरें पलक
फेरी सपनिमा तिमी आयौ

क्षितिजको कल्पना गर्छु
टाढा टाढा सम्म साथ देख्छु
बसन्तको आगमनसंगै
नयाँ लहर बनि आयौ

शायद अधुरो जीवन यात्रामा
नयाँ सुबाश बनि आएछौ
लाग्छ तिमी जिन्दगीमा
ॠतु बहार बनि आयौ

प्रभातको किरण सँगै
सम्झनीमा तिमी आयौ
बन्द गरें पलक
फेरी सपनिमा तिमी आयौ

© ज्योति मिश्र

Thursday, May 5, 2011

जीवनदिप्ति !

सुमधुर शालीनता र परिष्क्रितताको
मन्द अत्तरमा मग्मगिएकी
मृदु मनोहर र नम्रताको
श्रंगारिक माधुर्यमा सजिएकी

मृगजल तृष्णित आचेत मृगले
मरुउधान भेट्टाए जस्तो
अनुरागहीनता मडारिएको कालो मेघमा
चाँदीको प्रगतिरेखाले, जीवनदिप्ति ल्याएजस्तो

© ज्योति मिश्र २०११

Wednesday, April 13, 2011

नव बर्ष २०६८ को सबैलाई मनको मझेरीबाट शुभकामना !

नयाँ बसन्तको आगमनले
सबको जीवनमा नयाँ बहार ल्याओस्

ओंठमा सबको मुस्कान ल्याओस्
नयाँ खुशी र उमंग ल्याओस्

हर बन्झर दिलमा फुल मौलाओस्
सबको ब्यथा भर्ने मल्हम ल्याओस्

सबको मनमा चैन शन्ति ल्याओस्
आशाका नयाँ किरण ल्याओस्

स्वस्थता र निरोगी रहुन् सब
जीवनले नयाँ अर्थ ल्याओस्

नव बर्ष २०६८ को सबैलाई
मनको मझेरीबाट शुभकामना !

© ज्योति मिश्र

Saturday, April 2, 2011

मौन प्रीत !

माया लुकाउ भन्छौ त
मनमा माया लुकाई दिन्छु
नजिकिंदा आतिन्छ मन त
टाढै आफुलाई अडाई दिन्छु

तिम्रो मिठो आत्मियपनले
हृदयको अदृश्य पाना भरी
चुप चाप तिम्रा श्रंगारले
मनलाई सजाई दिन्छु

ती नयन, अधर, माधुर्य
स्‍मृतिमा हर बिम्ब संगालेर
त्यो अन्जान मौन प्रीतसंगै
चुप चाप जीवन रंगाई दिन्छु

माया लुकाउ भन्छौ त
मनमा माया लुकाई दिन्छु
नजिकिंदा आतिन्छ मन त
टाढै आफुलाई अडाई दिन्छु

© ज्योति मिश्र

Wednesday, October 20, 2010

"प्लाटोनिकतामा" रमेको जीवन !

हराएको छु कल्पनीमा

फर्की आउने चाह नाई

रमाएको छु सपनीमा

बिपनीको मोह नाई


उडेको छु बादल संगै

धरातलको चाह नाई

मोहित अलौकिक प्रितमा

यो लोकको माया नाई


यात्रामै चरमानन्द

गन्तब्यको रहर नाई

"प्लाटोनिकतामा" रमेको जीवन

दैहिकताको मोह नाई


हराएको छु कल्पनीमा

फर्की आउने चाह नाई

रमाएको छु सपनीमा

बिपनीको मोह नाई

© ज्योति मिश्र २०१०

Monday, July 12, 2010

मेरी बनि आउनु !

लाखौं फुलहरुको भीडमा अरु कली होईन
तिमी शालिन लहर लिई गुलाफ बनि आउनु

अन्धेरी आकाश मात्र सिंगार्ने ताराहरुको भीडमा
तिमी उजेली फैलाउने सुन्दर जुनेली बनि आउनु

नदीको बहावसंग मिस्सिएर हराई जाने धार होईन
सागरलाई चुमाउने तिमी प्रबाह बनि आउनु

चाहना र लगावको अधीर प्रेम लहर होईन
प्रितिको तिमी अटल जीवन तरंग बनि आउनु

तिमी सबकी प्यारी तर प्यार केवल मेरी
माया तिमी मेरी मात्र मेरी बनि आउनु

© ज्योति मिश्र

Thursday, April 15, 2010

My latest collection!


My new collection of Nepali poems is now available on all the major online book distributors!

Monday, February 15, 2010

A Collection of Nepali Poems!



Dear All!
My new book " A Collection of Nepali Poems" (अभिलाषा, रूचि र जीवन ) is on sale on createspace.com https://www.createspace.com/3431222 and and from today it is also available on www.amazon.com and all major online book distributors!


I hope you will like my new collection and give me your precious feedback!

Jyoti mishra

Saturday, February 13, 2010

एक एक बहाना खोज्दै एक एक बहानामा बाँचेको मान्छे!

भोलीका सुन्दर संम्भावनाहरुमा
बाँच्ने कल्पनामा बाँचेको मान्छे
एक एक बहाना खोज्दै
एक एक बहानामा बाँचेको मान्छे

आ-आफ्नै अस्तिवको कारण ठम्याउँदै
त्यही कारणकै अघि पछी रूमल्लिएका मान्छे
जीवनमा जति नै स्वतन्त्र भनेनी
एक परिधि भित्र सिमित मान्छे

आज भन्दा भोली, जीवनले अझ मिठो
लड्डु खुवाउने आशमा, रमेका मान्छे
त्यही आशमा हरदम, साँस फेर्नै फुर्सद नपाएका
तल्लिन, ब्यस्त मान्छे नै मान्छे

प्राणीहरुमा सबभन्दा बुद्धिमान भएर होला
सबैभन्दा जटिलतामा बाँचेका मान्छे
मान्छे मान्छेले बुनेको समाजरुपी धागोको
गाँठै गाँठोमा अल्झिएको मान्छे

भोलीका सुन्दर संम्भावनाहरुमा
बाँच्ने कल्पनामा बाँचेको मान्छे
एक एक बहाना खोज्दै
एक एक बहानामा बाँचेको मान्छे

© ज्योति मिश्र २००९

बिरानो ठाउँको मोहले नेपाललाई बिर्साएछ!

जीवनले कहाँ डोर्याएर
कुन बिरानो देशमा लिई आएछ
यही बिरानो ठाउँको मोहले
मेरो नेपाललाई बिर्साएछ

ती मन्दिर, देवल, पाटी पौवा
ठुला ठुला घरको जिन्दगी बीच हराएछ
सधैं मान्ने चाड पर्व
खै कुन संस्क्रिति बीच बिलाएछ

नेपाली नेपाली बीच अंग्रेजी बोल्ने
नयाँ माहोलले समाएछ
बिलाशिताले भनुं या डलरको देन
नेपाललाई धिक्कार्ने मन नि पलाएछ

नाता गोता सबलाई बिदेशै बोलाउने
नयाँ चलनको हावा लाएछ
खोइ के हो के हो नेपाल को चाला नि
नेपाली भनी गर्ब गर्ने रहर नि हराएछ

जीवनले कहाँ डोर्याएर
कुन बिरानो देशमा लिई आएछ
यही बिरानो ठाउँको मोहले
मेरो नेपाललाई बिर्साएछ

© ज्योति मिश्र

भीडै भीडमा रुमल्लीएको!

सुनौलो सपनाहरु सँगै
हजार रहर बोकेका मान्छे
भबिष्यको मिठो कल्पनामा
आज बांच्न बिर्सेंका मान्छे

जीवन सुखसँग बिताउन
दिनरात दौडी रहेका मान्छे
सन्तुष्टीको खोजीमा
हरदम असन्तुष्ट मान्छे

भीडै भीडमा हराएका
हुलका हुल मान्छे
अस्तित्व आफ्नो आँफैसंग
खोजी हिंड्ने मान्छे

खोई कता कता के के खोज्दै
आँफैंमा हराएका मान्छे
त्यही मान्छे मान्छेको बीचमा
रुमल्लीएको म एक मान्छे

© ज्योति मिश्र २००९

Tuesday, November 17, 2009

लक्ष्य नै लक्ष्यको दौडमा अब दौडनु छैन !

बडो एउटा बाटो हिंडेथें, लक्ष्य टुप्पै पुग्छु भनी
पुगियो टुप्पो बर्सौं लगाई, अब हुन्छ कि ढुक्क भनी

जीवनको यो निरन्तर यात्रा, त्यो टुप्पोमा के पो सक्नु
समय र मनले फेरी पेल्न थाल्यो, चलें नयाँ लक्ष्य भेद्न

त्यो दिनदेखी हिंड्या हिंड्यै छु, खोई अब कता पो पुग्न
टुप्पोबाट ओर्ल्या ओर्लै छु, अनेकौं शुरुबाट शुरुवात गर्न

बाटोमा जो साथी मिल्यो, उसैको पछी लागिदियाछु
खोई आफ्नो त रहर पनि पुगेछन् कि क्या हो, सबको मोडमा रमाईदियाछु !

हरेक लक्ष्यनै लक्ष्य नभई, अर्को लक्ष्यको शुरुवात रहेछ
अनि जीवनको त लक्ष्य नै लक्ष्य, अनगिन्ती अपार रहेछ

यो लक्ष्य नै लक्ष्यको दौडमा दौडनु छैन, बिस्तारी हिंडेर जान्छु
अन्तिम लक्ष्य त केवल मृत्युनै रैछ, नआउन्जेल जीवन पुरै रमाएरै बाँच्छु !

बडो एउटा बाटो हिंडेथें, लक्ष्य टुप्पै पुग्छु भनी
पुगियो टुप्पो बर्सौं लगाई, अब हुन्छ कि ढुक्क भनी

© ज्योति मिश्र २००९

समय र समय !

समय कहिले कछुवा भन्दा
सुस्त चल्या जस्तो लाग्छ !
कहीले घोडाको बेग भन्दा
तीक्ष्ण कुदया जस्तो लाग्छ !

समय आफ्नै मस्त तालमा
उही चालमा चले पनि
मान्छेलाई किन यो समय
कहिले लाटो, कहिले बाठो लाग्छ!

बच्पन त खै कहिले बित्यो!
खै थाहै नपाई जवानी नि
यो चतुर समयसँग लुकामारी खेल्दै
पत्तै नपाई बित्ला जस्तो लाग्छ!

जति यसलाई बसमा राख्न खोज्यो
उति फुत्क्या फुत्क्या जस्तो लाग्छ
यो समयको चक्रब्युह पो हो कि
कतै कतै सब फस्या जस्तो लाग्छ!

समय कहिले कछुवा भन्दा
सुस्त चल्या जस्तो लाग्छ !
कहीले घोडाको बेग भन्दा
तीक्ष्ण कुदया जस्तो लाग्छ !

© ज्योति मिश्र २००९
Thanks for visiting my blog!