Tuesday, November 17, 2009

लक्ष्य नै लक्ष्यको दौडमा अब दौडनु छैन !

बडो एउटा बाटो हिंडेथें, लक्ष्य टुप्पै पुग्छु भनी
पुगियो टुप्पो बर्सौं लगाई, अब हुन्छ कि ढुक्क भनी

जीवनको यो निरन्तर यात्रा, त्यो टुप्पोमा के पो सक्नु
समय र मनले फेरी पेल्न थाल्यो, चलें नयाँ लक्ष्य भेद्न

त्यो दिनदेखी हिंड्या हिंड्यै छु, खोई अब कता पो पुग्न
टुप्पोबाट ओर्ल्या ओर्लै छु, अनेकौं शुरुबाट शुरुवात गर्न

बाटोमा जो साथी मिल्यो, उसैको पछी लागिदियाछु
खोई आफ्नो त रहर पनि पुगेछन् कि क्या हो, सबको मोडमा रमाईदियाछु !

हरेक लक्ष्यनै लक्ष्य नभई, अर्को लक्ष्यको शुरुवात रहेछ
अनि जीवनको त लक्ष्य नै लक्ष्य, अनगिन्ती अपार रहेछ

यो लक्ष्य नै लक्ष्यको दौडमा दौडनु छैन, बिस्तारी हिंडेर जान्छु
अन्तिम लक्ष्य त केवल मृत्युनै रैछ, नआउन्जेल जीवन पुरै रमाएरै बाँच्छु !

बडो एउटा बाटो हिंडेथें, लक्ष्य टुप्पै पुग्छु भनी
पुगियो टुप्पो बर्सौं लगाई, अब हुन्छ कि ढुक्क भनी

© ज्योति मिश्र २००९

समय र समय !

समय कहिले कछुवा भन्दा
सुस्त चल्या जस्तो लाग्छ !
कहीले घोडाको बेग भन्दा
तीक्ष्ण कुदया जस्तो लाग्छ !

समय आफ्नै मस्त तालमा
उही चालमा चले पनि
मान्छेलाई किन यो समय
कहिले लाटो, कहिले बाठो लाग्छ!

बच्पन त खै कहिले बित्यो!
खै थाहै नपाई जवानी नि
यो चतुर समयसँग लुकामारी खेल्दै
पत्तै नपाई बित्ला जस्तो लाग्छ!

जति यसलाई बसमा राख्न खोज्यो
उति फुत्क्या फुत्क्या जस्तो लाग्छ
यो समयको चक्रब्युह पो हो कि
कतै कतै सब फस्या जस्तो लाग्छ!

समय कहिले कछुवा भन्दा
सुस्त चल्या जस्तो लाग्छ !
कहीले घोडाको बेग भन्दा
तीक्ष्ण कुदया जस्तो लाग्छ !

© ज्योति मिश्र २००९
Thanks for visiting my blog!