Wednesday, May 8, 2013

ॠतु बहार बनि आयौ!!!

प्रभातको किरण सँगै
सम्झनीमा तिमी आयौ
बन्द गरें पलक
फेरी सपनिमा तिमी आयौ

क्षितिजको कल्पना गर्छु
टाढा टाढा सम्म साथ देख्छु
बसन्तको आगमनसंगै
नयाँ लहर बनि आयौ

शायद अधुरो जीवन यात्रामा
नयाँ सुबाश बनि आएछौ
लाग्छ तिमी जिन्दगीमा
ॠतु बहार बनि आयौ

प्रभातको किरण सँगै
सम्झनीमा तिमी आयौ
बन्द गरें पलक
फेरी सपनिमा तिमी आयौ

© ज्योति मिश्र

Thursday, May 5, 2011

जीवनदिप्ति !

सुमधुर शालीनता र परिष्क्रितताको
मन्द अत्तरमा मग्मगिएकी
मृदु मनोहर र नम्रताको
श्रंगारिक माधुर्यमा सजिएकी

मृगजल तृष्णित आचेत मृगले
मरुउधान भेट्टाए जस्तो
अनुरागहीनता मडारिएको कालो मेघमा
चाँदीको प्रगतिरेखाले, जीवनदिप्ति ल्याएजस्तो

© ज्योति मिश्र २०११

Wednesday, April 13, 2011

नव बर्ष २०६८ को सबैलाई मनको मझेरीबाट शुभकामना !

नयाँ बसन्तको आगमनले
सबको जीवनमा नयाँ बहार ल्याओस्

ओंठमा सबको मुस्कान ल्याओस्
नयाँ खुशी र उमंग ल्याओस्

हर बन्झर दिलमा फुल मौलाओस्
सबको ब्यथा भर्ने मल्हम ल्याओस्

सबको मनमा चैन शन्ति ल्याओस्
आशाका नयाँ किरण ल्याओस्

स्वस्थता र निरोगी रहुन् सब
जीवनले नयाँ अर्थ ल्याओस्

नव बर्ष २०६८ को सबैलाई
मनको मझेरीबाट शुभकामना !

© ज्योति मिश्र

Saturday, April 2, 2011

मौन प्रीत !

माया लुकाउ भन्छौ त
मनमा माया लुकाई दिन्छु
नजिकिंदा आतिन्छ मन त
टाढै आफुलाई अडाई दिन्छु

तिम्रो मिठो आत्मियपनले
हृदयको अदृश्य पाना भरी
चुप चाप तिम्रा श्रंगारले
मनलाई सजाई दिन्छु

ती नयन, अधर, माधुर्य
स्‍मृतिमा हर बिम्ब संगालेर
त्यो अन्जान मौन प्रीतसंगै
चुप चाप जीवन रंगाई दिन्छु

माया लुकाउ भन्छौ त
मनमा माया लुकाई दिन्छु
नजिकिंदा आतिन्छ मन त
टाढै आफुलाई अडाई दिन्छु

© ज्योति मिश्र

Wednesday, October 20, 2010

"प्लाटोनिकतामा" रमेको जीवन !

हराएको छु कल्पनीमा

फर्की आउने चाह नाई

रमाएको छु सपनीमा

बिपनीको मोह नाई


उडेको छु बादल संगै

धरातलको चाह नाई

मोहित अलौकिक प्रितमा

यो लोकको माया नाई


यात्रामै चरमानन्द

गन्तब्यको रहर नाई

"प्लाटोनिकतामा" रमेको जीवन

दैहिकताको मोह नाई


हराएको छु कल्पनीमा

फर्की आउने चाह नाई

रमाएको छु सपनीमा

बिपनीको मोह नाई

© ज्योति मिश्र २०१०

Monday, July 12, 2010

मेरी बनि आउनु !

लाखौं फुलहरुको भीडमा अरु कली होईन
तिमी शालिन लहर लिई गुलाफ बनि आउनु

अन्धेरी आकाश मात्र सिंगार्ने ताराहरुको भीडमा
तिमी उजेली फैलाउने सुन्दर जुनेली बनि आउनु

नदीको बहावसंग मिस्सिएर हराई जाने धार होईन
सागरलाई चुमाउने तिमी प्रबाह बनि आउनु

चाहना र लगावको अधीर प्रेम लहर होईन
प्रितिको तिमी अटल जीवन तरंग बनि आउनु

तिमी सबकी प्यारी तर प्यार केवल मेरी
माया तिमी मेरी मात्र मेरी बनि आउनु

© ज्योति मिश्र

Thursday, April 15, 2010

My latest collection!


My new collection of Nepali poems is now available on all the major online book distributors!

Monday, February 15, 2010

A Collection of Nepali Poems!



Dear All!
My new book " A Collection of Nepali Poems" (अभिलाषा, रूचि र जीवन ) is on sale on createspace.com https://www.createspace.com/3431222 and and from today it is also available on www.amazon.com and all major online book distributors!


I hope you will like my new collection and give me your precious feedback!

Jyoti mishra

Saturday, February 13, 2010

एक एक बहाना खोज्दै एक एक बहानामा बाँचेको मान्छे!

भोलीका सुन्दर संम्भावनाहरुमा
बाँच्ने कल्पनामा बाँचेको मान्छे
एक एक बहाना खोज्दै
एक एक बहानामा बाँचेको मान्छे

आ-आफ्नै अस्तिवको कारण ठम्याउँदै
त्यही कारणकै अघि पछी रूमल्लिएका मान्छे
जीवनमा जति नै स्वतन्त्र भनेनी
एक परिधि भित्र सिमित मान्छे

आज भन्दा भोली, जीवनले अझ मिठो
लड्डु खुवाउने आशमा, रमेका मान्छे
त्यही आशमा हरदम, साँस फेर्नै फुर्सद नपाएका
तल्लिन, ब्यस्त मान्छे नै मान्छे

प्राणीहरुमा सबभन्दा बुद्धिमान भएर होला
सबैभन्दा जटिलतामा बाँचेका मान्छे
मान्छे मान्छेले बुनेको समाजरुपी धागोको
गाँठै गाँठोमा अल्झिएको मान्छे

भोलीका सुन्दर संम्भावनाहरुमा
बाँच्ने कल्पनामा बाँचेको मान्छे
एक एक बहाना खोज्दै
एक एक बहानामा बाँचेको मान्छे

© ज्योति मिश्र २००९

बिरानो ठाउँको मोहले नेपाललाई बिर्साएछ!

जीवनले कहाँ डोर्याएर
कुन बिरानो देशमा लिई आएछ
यही बिरानो ठाउँको मोहले
मेरो नेपाललाई बिर्साएछ

ती मन्दिर, देवल, पाटी पौवा
ठुला ठुला घरको जिन्दगी बीच हराएछ
सधैं मान्ने चाड पर्व
खै कुन संस्क्रिति बीच बिलाएछ

नेपाली नेपाली बीच अंग्रेजी बोल्ने
नयाँ माहोलले समाएछ
बिलाशिताले भनुं या डलरको देन
नेपाललाई धिक्कार्ने मन नि पलाएछ

नाता गोता सबलाई बिदेशै बोलाउने
नयाँ चलनको हावा लाएछ
खोइ के हो के हो नेपाल को चाला नि
नेपाली भनी गर्ब गर्ने रहर नि हराएछ

जीवनले कहाँ डोर्याएर
कुन बिरानो देशमा लिई आएछ
यही बिरानो ठाउँको मोहले
मेरो नेपाललाई बिर्साएछ

© ज्योति मिश्र

भीडै भीडमा रुमल्लीएको!

सुनौलो सपनाहरु सँगै
हजार रहर बोकेका मान्छे
भबिष्यको मिठो कल्पनामा
आज बांच्न बिर्सेंका मान्छे

जीवन सुखसँग बिताउन
दिनरात दौडी रहेका मान्छे
सन्तुष्टीको खोजीमा
हरदम असन्तुष्ट मान्छे

भीडै भीडमा हराएका
हुलका हुल मान्छे
अस्तित्व आफ्नो आँफैसंग
खोजी हिंड्ने मान्छे

खोई कता कता के के खोज्दै
आँफैंमा हराएका मान्छे
त्यही मान्छे मान्छेको बीचमा
रुमल्लीएको म एक मान्छे

© ज्योति मिश्र २००९

Tuesday, November 17, 2009

लक्ष्य नै लक्ष्यको दौडमा अब दौडनु छैन !

बडो एउटा बाटो हिंडेथें, लक्ष्य टुप्पै पुग्छु भनी
पुगियो टुप्पो बर्सौं लगाई, अब हुन्छ कि ढुक्क भनी

जीवनको यो निरन्तर यात्रा, त्यो टुप्पोमा के पो सक्नु
समय र मनले फेरी पेल्न थाल्यो, चलें नयाँ लक्ष्य भेद्न

त्यो दिनदेखी हिंड्या हिंड्यै छु, खोई अब कता पो पुग्न
टुप्पोबाट ओर्ल्या ओर्लै छु, अनेकौं शुरुबाट शुरुवात गर्न

बाटोमा जो साथी मिल्यो, उसैको पछी लागिदियाछु
खोई आफ्नो त रहर पनि पुगेछन् कि क्या हो, सबको मोडमा रमाईदियाछु !

हरेक लक्ष्यनै लक्ष्य नभई, अर्को लक्ष्यको शुरुवात रहेछ
अनि जीवनको त लक्ष्य नै लक्ष्य, अनगिन्ती अपार रहेछ

यो लक्ष्य नै लक्ष्यको दौडमा दौडनु छैन, बिस्तारी हिंडेर जान्छु
अन्तिम लक्ष्य त केवल मृत्युनै रैछ, नआउन्जेल जीवन पुरै रमाएरै बाँच्छु !

बडो एउटा बाटो हिंडेथें, लक्ष्य टुप्पै पुग्छु भनी
पुगियो टुप्पो बर्सौं लगाई, अब हुन्छ कि ढुक्क भनी

© ज्योति मिश्र २००९

समय र समय !

समय कहिले कछुवा भन्दा
सुस्त चल्या जस्तो लाग्छ !
कहीले घोडाको बेग भन्दा
तीक्ष्ण कुदया जस्तो लाग्छ !

समय आफ्नै मस्त तालमा
उही चालमा चले पनि
मान्छेलाई किन यो समय
कहिले लाटो, कहिले बाठो लाग्छ!

बच्पन त खै कहिले बित्यो!
खै थाहै नपाई जवानी नि
यो चतुर समयसँग लुकामारी खेल्दै
पत्तै नपाई बित्ला जस्तो लाग्छ!

जति यसलाई बसमा राख्न खोज्यो
उति फुत्क्या फुत्क्या जस्तो लाग्छ
यो समयको चक्रब्युह पो हो कि
कतै कतै सब फस्या जस्तो लाग्छ!

समय कहिले कछुवा भन्दा
सुस्त चल्या जस्तो लाग्छ !
कहीले घोडाको बेग भन्दा
तीक्ष्ण कुदया जस्तो लाग्छ !

© ज्योति मिश्र २००९

Thursday, October 22, 2009

अगाडी हेर्यो ठाडो उकालो पछी फर्क्यो कि भीर छ !

अगाडी हेर्यो ठाडो उकालो
पछी फर्क्यो कि भीर छ
जीवनको यो कस्तो गोरेटो
जता लागे नि पिर्छ

गन्तब्य छ एकातिर
बाटो घुम्या घुम्यै गर्छ
कदम बढाउनु छ अघि थाहा छ
पाईलाले साथ नदिएर पिर्छ

अगाडी हेर्यो ठाडो उकालो
पछी फर्क्यो कि भीर छ
जीवनको यो कस्तो गोरेटो
जता लागे नि पिर्छ

थकाई मार्यो कि यो गोरेटोमा
पक्कै अबेर हुने डर छ
जे सुकै होस् भनी मतलब नगर्यो
आकांक्षाहरुले मन झनै पिर्छ

अगाडी हेर्यो ठाडो उकालो
पछी फर्क्यो कि भीर छ
जीवनको यो कस्तो गोरेटो
जता लागे नि पिर्छ

© ज्योति मिश्र २००९

Saturday, September 19, 2009

बिजया दशमीको मंगलमय शुभकामना सँगै!

शिलापुत्रीदुर्गाले जीवनसँग लड्ने शक्ती दिउन्
ब्रम्हचारिणी दुर्गाले मनमा खुशी, उन्नती, र प्रगती दिउन्
चन्द्रघण्टा दुर्गाले शत्रु सँग लड्ने क्षमता दिउन्
कुश्मान्डा दुर्गाले जीवनमा ज्योति छरीदिउन्

स्कन्दमाता दुर्गाको आशिर्वाद सबलाई मिली रहोस्
कात्यायानी दुर्गाले सबको मनोकांक्षा पुरा गरुन्
कालरात्री दुर्गाले सधैं दु:ख कष्टबाट टाढै राखुन्
महागौरी दुर्गाले जीवनलाई शुद्धीकरण गर्ने क्षमता दिउन्

शिद्धीधात्री दुर्गाले महादेवलाई पनि आशिक दिए जस्तै
सबैलाई नबदुर्गाले नै मनले चिताएको आशिक दिउन्
अनि बिजया दशमीले जीवनमा एउटा नयाँ उमङ्ग ल्याओस्
खुशी मिलोस्,मार्गदर्शन मिलोस्, चिताएको कुरा सबै पुगोस्

बिजया दशमीको सबैलाई हार्दिक मंगलमय शुभकामना!

© ज्योति मिश्र २००९

Sunday, September 13, 2009

जल्दा जल्दा खरानी भएको मान्छेलाई!

मेरो सुर्ता नगर्नु, म सोची मन नपिर्नु
यादै यादमा जल्दा जल्दा खरानी भएको मान्छेलाई
फेरी तिमी एकपल्ट जलाउँला नसोच्नु

आफु नजल्नु, मनलाई नपोल्नु
मेरा यादका घाऊहरु कता कता चहर्याए
मलाई नै बिर्सी बरु मल्हम लगाउनु

हिजो हाँसोमा तिम्रो, मेरो खुशी थियो
आज तिम्रो खुशीमा, मेरो हाँसो अडेको छ
त्यही खुशीको लागि आफ्नै मनलाई दागबत्ती हासीं दिएँ

अब मेरो यादको जुठो नबारी तिमी बस् अघि बढ्नु
आफ्ना कर्तब्य लक्ष्य सारा चिताएझैं पुरा गर्नु
तिमीले भने जस्तै कुनै दिन फेरी मन ब्युँताई दिउँला

अमृत तिम्रो साथको छर्की, फेरी साथ जीवन अघि बढाईदिउंला
तर मेरो सुर्ता नगर्नु, म सोची मन नपिर्नु
जल्दा जल्दा खरानी भएको मान्छेलाई फेरी एकपल्ट जलाउँला नसोच्नु

© ज्योति मिश्र

Wednesday, September 9, 2009

ईच्छालाई दु:ख अनि सन्तुष्टीलाई सुख सम्झ्यो !

धेरै सोच्नु नै बेकार जस्तो
कपाल मात्र झार्नु जस्तो
जस्तो आउंछ त्यस्तै टर्छ
ब्यर्थ टाउको केलाई दुखाई जस्तो

मुस्कुराउंदै अघि बढ्यो
अहिलेको सांस खुशीमा फेर्यो
कसैलाई थाहा नभएको आफ्नो आयु
सकेसम्म हरपल हर्सित भई खर्च्यो

आफुलाई जे ठीक लाग्छ त्यही गर्यो
जे रुच्छ त्यही खायो
जहाँ निन्द्रा लाग्छ त्यही पल्टियो
जे मन पर्छ त्यही लायो

सकेसम्म खल्ती भर्यो
नसकेनी खाली न गर्यो
ईच्छालाई दु:ख सम्झी
सन्तुष्टीलाई सुख सम्झ्यो

भएका रहर सबै बिस्तारै पुग्लान्
यो पाइलाले बिस्तारै संसारै टेक्लान्
समस्या भएका सबै बिस्तारै टर्लान्
आजभन्दा भोलीका पल प्रगतीतिरै बढ्लान्

त्यसो भए धेरै के सोचाई भो र
झरिराको कपाल झन् के झराई भो र
जीवन, जस्तो आउंछ त्यस्तै टारुंला
ब्यर्थ टाउको केलाई दु:खाई भो र !

धेरै सोच्नु नै बेकार जस्तो
कपाल मात्र झार्नु जस्तो
जस्तो आउंछ त्यस्तै टर्छ
ब्यर्थ टाउको केलाई दुखाई जस्तो

© ज्योति मिश्र

सोच्छ यो मन के होला जीवन भने जस्तो सबै पाए

यस्तो पाए, उस्तो पाए
सोचे जस्तो सबै पाए
सोच्छ यो मन, के होला जीवन
भने जस्तो सबै पाए

बादलुको यात्रामा सधैं
साथी बन्न पाए
हावाको तरङ्गसँगै
बही रहन पाए

फुलको सुबाशमा
रमि रहन पाए
सागरको लहरसँगै
तैरी रहन पाए

मदहोशीमा जीवन
झुमी रहन पाए
५ डलरको लटरीमा
मिलियन डलर पाए

संसारको कुना कुनामा
रमि हिंड्न पाए
जिन्दगी को रहर इच्छा
सबै पुग्न पाए

भाग्यमानी जीवनमा हामी
सपना देख्ने त सामर्थ छ
सपना देख्ने पनि सपना देख्ने
करोडौंको मुहारमा मुस्कान ल्याउन पाए

यस्तो पाए, उस्तो पाए
सोचे जस्तो सबै पाए
सोच्छ यो मन, के होला जीवन
भने जस्तो सबै पाए

© ज्योति मिश्र

Thursday, June 25, 2009

बादलुले मायालाई

नबुझेको होइन शायद
बुझ्न नसके जस्तो लाग्छ
मायालाई उंचाईमा
बादलुले पो छोप्यो जस्तो लाग्छ

बेसी पहाड लेक हुँदै
कती देउराली काटी सकियो
कती गाह्रो चिप्लो यात्रा
मुस्कान रोदन कटाई सकियो

सागरबाट बादल उठी
आकाशमा पुगी फेरी
त्यही बर्षा नदी हुँदै
सागरमै मिले जस्तै

बादलको शितबाट,
लेकबाट मायालाई
उही न्यानो बेसी झारी
माया दिउं जस्तो लाग्छ

मन भित्र खुल्दुली
बढे जस्तो जस्तो लाग्छ
मायालाई उंचाईमा
बादलुले पो छोप्यो जस्तो लाग्छ

© ज्योति मिश्र २००९

जीवनका लक्ष्यहरु एकैचोटी पुगोस् जस्तो !

जीवनका लक्ष्यहरु
एकैचोटी पुगोस् जस्तो
आजबाट भोली नभई
अर्कै बर्ष आओस् जस्तो

कल्पनाका सारा ईच्छा
अहिल्यै सबै पुराउं जस्तो
भोलीनै मनका सारा रहर
बांची हालौं, हेरौं जस्तो

ब्यग्र यो मन, जीवन बुझ्न
फिल्म छिटो कुदाए जस्तो
जीवन छिटो कुदाउन सके
फेरी अर्कै द्रिश्य रोज्थें जस्तो

घडी अनी यो संसारनै
कती ढिलो घुमे जस्तो
आजबाट भोली नभै
अर्कै बर्ष आओस् जस्तो

© ज्योति मिश्र
Thanks for visiting my blog!